बेलबारी नगरपालिकाका    नगर प्रमुख दिल प्रसाद राईलाई नेसनल प्याब्सन बेलबारीका अध्यक्ष पर्बत खालिङ्ग राईद्वारा ध्यानाकर्षण पत्र बुझाइएको छ। यस पत्रमा, बेलबारी नगर क्षेत्रका विद्यालयहरूमा देखा परेका विभिन्न शैक्षिक समस्याहरूको समाधानका लागि नगर प्रमुखको ध्यान आकर्षित गर्दै आवश्यक पहल उठाउने पत्रमा अनुरोध गरिएको छ।

चैत्र १७ गते बसेको नेसनल  प्याब्सन बेलबारीको  निर्णय अनुसार, यस पत्रमा निम्नलिखित बुँदाहरूमा ध्यानाकर्षण गरिएको छ।  

१. इमिस नम्बर ट्रान्सफर सम्बन्धमा

हरेक शैक्षिक सत्रमा विद्यार्थीहरू एक विद्यालयबाट अर्को विद्यालयमा जान/आउनुका कारण विद्यार्थीहरूको इमिस नम्बर बिना अनुमति ट्रान्सफर गरिएको गुनासो प्राप्त भएको छ। यसैले, नगर प्रमुखलाई अनुरोध गरिएको छ कि विद्यार्थीको इमिस नम्बर अन्य विद्यालयमा ट्रान्सफर नगर्नुहोस् र विद्यालयको अनुमति बिना कुनै ट्रान्सफर प्रक्रिया नगर्नुहोस्।

२. कक्षा थप अनुमति सम्बन्धमा

विद्यालयहरूले प्रत्येक वर्ष कक्षा थप अनुमति माग गर्दा केही समस्याहरू देखा परेको छ। यस्ता समस्याहरू समाधान गर्न विद्यालयको समयमै स्थलगत अनुगमन गरी कक्षा थप अनुमति दिने प्रक्रिया स्पष्ट गर्न अनुरोध गरिएको छ।


३. अनुगमन सम्बन्धमा

संस्थागत विद्यालयहरूको भौतिक अनुगमन गरी विद्यालय सुधार र गुणस्तरीय शिक्षाका लागि आवश्यक सल्लाह सुझाव दिने अनुरोध गरिएको छ।

४. सहभागिता सम्बन्धमा

संस्थागत विद्यालयलाई पालिका स्तरका छलफल, तालिम र कार्यक्रमहरूमा समावेश गरी सहभागी गराउने अवसरको लागि धन्यवाद व्यक्त गरिएको छ र यसका निरन्तरताको अपेक्षासमेत गरिएको छ।

५. शिक्षा समितिमा प्रतिनिधि सदस्य सम्बन्धमा

बेलबारी नगरपालिकाको शिक्षा समितिमा संस्थागत विद्यालयहरूको प्रतिनिधि सदस्यको रूपमा नेसनल प्याब्सन र प्याब्सनबाट एक–एक जना प्रतिनिधि अनिवार्य रूपमा सहभागी गराउन अनुरोध गरिएको छ।

६. वार्षिक कर तथा नवीकरण दस्तुर सम्बन्धमा

संस्थागत विद्यालयहरूको वार्षिक कर र नवीकरण दस्तुरको वर्तमान व्यवस्थामा सुधार गर्न अनुरोध गरिएको छ। कक्षागत लिने व्यवस्था लागू गरेर कक्षा १ अथवा २ भएका विद्यालयलाई थप कक्षा खुलाउने अवस्थामा उक्त कक्षासम्मको मात्र वार्षिक कर र नवीकरण दस्तुर लिनुपर्ने प्रस्ताव गरिएको छ।

७. विद्यालयको वर्गीकरण र छात्रवृत्ति सम्बन्धमा

विद्यालयहरूको वर्गीकरणलाई वैज्ञानिक ढङ्गले पुनरावलोकन गरी यथार्थ वर्गीकरण गर्ने र छात्रवृत्ति वितरणको अनुगमन गर्न अनुरोध गरिएको छ।

८. विद्यालय परिवर्तन सम्बन्धमा

विद्यार्थीहरूले स्वेच्छाले विद्यालय परिवर्तन गर्दा स्थानान्तरण प्रमाणपत्रको माग गरेर विद्यालयमा भर्ना प्रक्रिया सुनिश्चित गर्न अनुरोध गरिएको छ।

उक्त ध्यानाकर्षण पत्रमा समाविष्ट सबै बुँदाहरूलाई सकारात्मक रुपमा अध्ययन गरी कार्यान्वयनको पहल गर्न नगर प्रमुखसँग विशेष अनुरोध गरिएको छ। नेसनल प्याब्सन बेलबारीले बेलबारीको शैक्षिक क्षेत्रको सुधार र विकासका लागि आफ्नो पूर्ण सहयोगको तयारी जनाएको छ।

बेलबारीको शैक्षिक सुधारमा सदैव तत्पर रहेको नेसनल प्याब्सन, यस विषयमा थप छलफल वा जानकारीको लागि नगर प्रमुखसँग सहयोग गर्ने कुरा दोहोर्याइएको छ।