मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसले पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ। 
आयोजकले पत्रकार सम्मेलन गरी वैशाख ६ र ७ गते पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने जानकारी गराएको छ। ‘उच्च शिक्षामा दिगोपनस् स्थानीय र विश्वव्यापी ज्ञानको एकीकरण’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको हो। उच्च शिक्षाको स्थायित्वमा छलफल गर्नुका साथै स्थानीय र वैश्विक ज्ञानको आदानप्रदान अनुसन्धान तथा शैक्षिक सहयोग बढाउन  सम्मेलन गर्न लागिएको आयोजक समितिका संयोजक एवम् सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए। 
दुई दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन ५ ओटा विद्वत प्रवचन, ३ सम्भाषण, १ प्यानल छलफल, १८ समानान्तर सत्र तथा सांस्कृतिक हुने उल्लेख गरिएको छ। दोस्रो दिन पुनः ४ विद्वत् प्रवचन, ६ सम्भाषण, २ कार्यशाला, २७ समानान्तर सत्र हुनेछ। सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, भारत तथा थाइल्यान्डका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. तीर्थराज खनियाँलगायत अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका दर्जन बढी विद्वानहरू सहभागी हुने छन्। त्यस्तै, कृषि तथा वन विश्वविद्यालय चितवनका उपकुलपति प्राध्यापक डाक्टर शारदा थपलिया, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजु थपलिया, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसे, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्राध्यापक डाक्टर बालचन्द लुइँटेल र काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा नेल्टा केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर लक्ष्मण ज्ञवाली पनि मुख्य वक्ताको रूपमा सहभागी हुने पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ। 
सम्मेलनमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका प्राध्यापक डाक्टर देवेन्द्र अधिकारी, प्राध्यापक डाक्टर वासुदेव काफ्ले, नेपालका लागि अमेरिकी राजदूतावासका अङ्ग्रेजी भाषा क्षेत्रीय अधिकारी रोजर एफ कोहेन र प्रिन्स अफ सोङ्कला विश्वविद्यालय थाइल्यान्डका सहप्राध्यापक डाक्टर अपिराडी लिमले समूहगत वक्ताको रूपमा प्रस्तुति दिनेछन्। विभिन्न शिक्षाविद्को प्यानल छलफल हुने उक्त कार्यक्रममा विश्वविद्यालय, क्याम्पस र उच्च शिक्षाका सरोकारवाला संस्थाका प्राध्यापक, शिक्षक र शैक्षिक व्यक्तित्व गरी कम्तीमा ३०० जना सहभागी हुने अपेक्षा राखिएको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले जानकारी दिए। उनले सम्मेलनमा २० देखि २४ लाखको खर्च अनुमान गरिएको बताए। प्रदेश सरकार, स्थानीय पालिका, त्रिभुवन विश्वविद्यालय अनुदान आयोग तथा स्थानीय श्रोत र साधनको उपयोग गरेर कार्यक्रमको खर्च व्यवस्थापन गरिने उल्लेख गरिएको छ। 
सुकुना जनस्तरबाट स्थापित एउटा उत्कृष्ट क्याम्पस भएको बताउँदै पहिलो पटक गर्न लागिएको यस सम्मेलनले क्याम्पसको गरिमालाई अझ माथि उठाउन सहयोग पुर्‍याउने आशा गरिएको क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठ बताए। 
२०४८ सालमा स्थापना भएको, पूर्व क्षेत्रकै एक गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यो क्याम्पस दुई-दुई पटक गुणस्तर सुनिश्चितता प्रत्ययन (Quality Assurance Accreditation- QAA) प्राप्त गर्न सफल भएको छ। मानविकी, व्यवस्थापन, विज्ञानलगायतका सङ्कायको पठनपाठन हुने यस क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिएस्सी, बिए, बिबिए, बिआईसीटीई र बिएड विज्ञान कार्यक्रम सञ्चालित छन्। स्नातकोत्तर तहमा एम एड् र एम बिएस कक्षा चलिरहेका छन्। चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत यस क्याम्पसले पठनपाठनका अतिरिक्त समय समयमा विभिन्न प्राज्ञिक, अनुसन्धानात्मक तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। क्याम्पसमा जम्मा ९७ जनाभन्दा बढी शिक्षकहरू र २६ जनाभन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन्। क्याम्पसको आफ्नै ४ विगाह १५ कठ्ठा जग्गा रहेको छ।  क्याम्पसका लागि चाहिने सबै भौतिक पूर्वाधारहरू आफ्नै जग्गामा निर्मित छन्। विश्वविद्यालयले अनुदान आयोग नेपालले यस क्याम्पसको शैक्षिक र व्यवस्थापकीय गुणस्तर अब्बल भएको हुँदा नेपालभरिका सामुदायिक क्याम्पसहरू मध्येबाट यस क्याम्पसलाई नेतृत्वदायी क्याम्पस (Lead Campus) मा छनोट गरेको छ। अवका दिनहरूमा यस क्याम्पसले अन्य क्याम्पसहरूका शिक्षक कर्मचारीहरूलाई तालिम, सेमिनार, गोष्ठी, कार्यशाला र अनुसन्धानका क्षेत्रमा नेतृत्व प्रदान गर्नुपर्ने दायित्व भएको उल्लेख गरिएको छ। सुकुना बहुमुखी क्याम्पसले आयोजना गर्न लागेको यस प्रकारको अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सम्भवतः सामुदायिक स्तरमा पहिलो पटक आयोजना गर्न लागिएको आयोजक समितिका सदस्य गुणराज नेपालले बताए।