राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलहरूले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाउँ बनाई रहेको बताएकी छन्।
बुधवार प्रतिनिधिसभाको बैठक पश्चात् उनले विश्वविद्यालयलाई दलहरूले आफ्नो स्वार्थको लागि प्रयोग गरेको भन्दै यसलाई तत्काल रोक्नु पर्ने बताइन्।
दलहरूले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरूलाई सिडीको रूपमा प्रयोग मात्र गरिरहेको भन्दै यस्तो तरिकाले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न नसक्ने पनि उनको भनाई छ।
उनले भनिन्, ‘विश्वविद्यालयलाई दलहरूले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाउँ बनाई रहेका छन्। यसलाई तत्काल रोक्नु पर्छ। यसलाई रोक्नलाई जुन तरिकाले सदन सहज तरिकाले केही पनि नभएको जस्तो गरेर चलिरहेको छ। स्ववियुको निर्वाचनमा के भइरहेको हो, एकदमै झगडाको माहोल बनेको छ। धेरै जनालाई यो विद्यार्थीहरूले गरेको जस्तो लाग्छ तर मलाई लाग्छ यो दलहरूले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरूलाई आफ्नो सिडीको रूपमा प्रयोग मात्र गरिरहेका छन्। यस्तो पाराले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न सक्दैन।’
यसको साथै, उनले सदनमा घृणाको राजनीति नगरौँ भनेर भन्ने दलहरूले नै विद्यार्थीहरूलाई एक अर्कालाई कुट भनेर आदेश दिने गरेको भन्दै योभन्दा बढी घृणाको काम अरू केही हुन नसक्ने बताइन्।उनले भनिन्, ‘यही सदनमा छन् धेरै जना कमान्डरहरु, सदनमा राम्रो कुरा गर्छन् घृणाको राजनीति नगरौँ भनेर तर बाहिर विद्यार्थीहरूलाई एक अर्कालाई कुट भनेर भन्ने योभन्दा बढी घृणाको काम अरू के हुन सक्छ। तर यस्तो काम दलहरूले गर्न लगाइ रहेको छ।’