नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत आज (बिहीबार) होलीको शुभकामना दिँदै उनले हाम्रा पर्वहरूले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्ने बताएका हुन्।
उनले लेखेका छन्, ‘रङहरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ। अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो।’
उनले हाम्रा चाडपर्वहरूले समुदायबिच सद्भाव बढाउने भन्दै एकताबद्ध गर्न सघाउने पनि बताए।
उनले यस्तो लेखेका छन्,
आज पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा भोलि दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने फागु पूर्णिमा (होली पर्व) २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
रङहरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ। अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो। यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक परम्परा र पर्वहरू छन्। हाम्रा चाडपर्वहरूले समुदायबिच सद्भाव बढाउँछन्। समुदायलाई एकताबद्ध गर्न सघाउँछन्। विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्म स्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन्। होली पर्वको अवसरमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु।




















