कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण गर्नु भएको छ। 
कार्तिक २५ गते भएको निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय, सम्पूर्ण शाखाहरूको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ। 
निर्देशनको क्रममा उहाँले सङ्गठनको हितलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार र अनुशासित तवरबाट निर्वाह गरी नागरिकको सेवामा  सदैव तल्लीन रहनुपर्ने बताउनु भएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाले परिचित नेपालको सोलुखुम्बु जिल्लामा भ्रमणको लागि आउनुहुने पर्यटकहरूलाई सुरक्षित साथ निर्धक्क भ्रमण गरी फर्कने वातावरण बनाउन प्रहरीले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताउनु हुँदै समाजमा आम नागरिक र प्रहरी बिचको सम्बन्ध सुमधुर बनाई कुनै पनि अपराधिक घटनाहरू घट्न नदिनका लागि ग्रामीण भेगका बस्तीहरूमा छोटो तथा लामो दुरीको प्रहरी गस्ती परिचालन गर्न तथा जनचेतनाको कमीबाट हुने घटना दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न समेत निर्देशन दिनु भएको छ।
सोलुखुम्बु जस्तो दूर दराज पहाडी र हिमाली जिल्लामा सीमित स्रोत साधनको बाबजुद पनि निरन्तररुपमा नागरिकहरूमा विश्वासिलो प्रहरी सेवा प्रदान गर्दै आइरहेकोमा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सेवाको लागि धन्यवाद व्यक्त गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरूको पिरमार्का र समस्याहरूको सुनुवाइ समेत गर्नु भएको थियो। 
निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार समेतको उपस्थिति रहेको थियो।